भैरहवा, ९ साउन । भारतीय मालवाहक गाडीले ओभरलोड बोकेर सडक संरचना भत्काउनुका साथै नेपाली ढुवानी व्यवसायीलाई समस्या सिर्जना गरेको ट्रक व्यवसायीहरुले बताएका छन् । सोमबार भैरहवामा लुम्बिनी ट्रक व्यवसायी संंघ र पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन मार्फत ओभरलोड नियन्त्रण गर्नेतर्फ सरोकारवाला निकायले पहल नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
भारतीय गाडी ओभरलोड बोकेर हिँड्दा सडक जिर्ण बन्दै जानुका साथै नेपाली गाडी काम नपाएर बस्नु पर्ने भएकोले आन्दोलनमा जानुको विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघ रुपन्देहीका महासचिव रुमाखर गौतमले बताए ।
लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले संयुक्त रुपमा जग्गा लिएर गाडी पार्किङको व्यवस्था बेलहियमा गरेकोले भारतीय ओभरलोड बोकेका गाडी पल्टी गरेर जानुपर्ने पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की बताउँछन् । उनी भन्छन्–‘ट्राफिक प्रहरीले जरिवाना काटेर ट्रक व्यवसायीलाई धम्क्याएर भारतीय गाडी छोड्ने गरेको छ ।’
नेपालमा व्यापारिक राजमार्गको क्षमता १० टन सम्मको क्षमता रहेको छ । तर भारतबाट आउने गाडी ४० टन सम्म बोकेर नेपाल प्रवेश गर्छन् । ट्राफिकले ५ सय जरिवाना गरेर गाडी छोड्ने गरेको ब्यवसायीको आरोप छ ।
