पाल्पा, ९ साउन । पाल्पाको रिब्दीकोटमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भएको छ ।
बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपरान्ह साढे ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।
बस दुर्घटनामा परी मृत्यु हुने सबै शबको पहिचान भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनामा रुपन्देही देवदह नगरपालिका वडा नं. ७ की ८७ वर्षिया डिलसरी कामी, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ का ४५ वर्षीय यज्ञ बहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ५ की २४ वर्षीया पूर्णिमा कामी, गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. – ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७ का ४० वर्षीय लालबहादुर राना कुमाल र बाग्लुङ बडिगार्ड गाउँपालिका वडा नं. १० की ५५ वर्षीया यमकली थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्र थापाले जानकारी दिए ।
सूचना अधिकारी समेत रहेका डीएसपी थापाका अनुसार दुर्घटनामा परी घाइते भई तानसेनको मिसन अस्पतालमा उपचारत १६ जनामध्ये ८ जना डिस्चार्ज भएका छन् भने अब ८ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये अस्पतालमा उपचारत म्याग्दी रुमा गाउँपालिका वडा नं. ४ की ३९ वर्षीया सुमित्रा रोका र रुपन्देही देवदह नगरपालिका वडा नं. ७ का खड्कबहादुर विकको अवस्था गम्भीर रहेको छ । बस सडकबाट ८० मिटर तल खसेको थियो ।
