तिलोत्तमा, ८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, जानकीनगर स्थित कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ ।
सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा प्रहरीले उक्त कल सेण्टरमा छापा परेको हो ।
तिलोत्तमा नगरपालिका –२ जानकीनगरमा चार तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ठगि गर्नेगरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
‘ब्लू स्काई कल सेन्टर’ नामक उक्त संस्थामा करिब २५० जना कामदारहरु राखेर करोडौंको अवैध कारोबार गर्ने गिरोहलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीले कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई पनि नियन्त्रणमा लिईएको जनाएको छ ।
चिनिया र भारतीय नागरिक समेतको लगानीमा खोलीएको उक्त कल सेण्टरबाट सर्वसाधारणको मोबाईल ह्वाट्सप र फेसबुकमा अश्लिल म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जानकारी गराउनु भयो ।
१५० जना बढी महिला तथा पुरुष कर्मचारीलाई रोजगारी दिएर खुलेको सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको प्रहरीले पुष्टी गरेपनि अबैध कार्यको विषयमा प्रहरीले खुलाएको छैन ।
सिंगो घर नै भाडामा लिएर सञ्चालन गरिएको उक्त ठाउँमा भुई तलामा रिसेप्सन तथा सामान्य अफिस संचालन गरिएको छ भने पहिलो, दोस्रो र तेस्रो तलमा काम गर्नका लागि कम्युटर लगायतका सामाग्री राखिएको छ । प्रत्येक तलामा कम्तिमा ८०÷९० जना कामदारले एकसाथ काम गर्न मिल्नेगरी सञ्चालन गरिएको कल सेन्टर अवैध छ भन्ने कुरा कल सेण्टर नजिकका कसैले पनि हालसम्म पत्तो पाएका थिएनन् । यस विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

