तिलोत्तमा, १ साउन । तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र नेपाली कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गराउन भूमिका खेलेको आरोप लगाउंदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
आइतबारको नगरसभा बैठकमा एमालेबाट निर्वाचित ४२ जना नगरसभा सदस्यको हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृतले अरु नगरसभा सदस्यको हस्ताक्षर नगराई गणपूरक संख्या नपुगेको देखाइएको उपप्रमुख चौधरीको भनाईछ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आज दिनभर जसो प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीविरुद्ध चर्को नाराबाजी गरेका थिए । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको चर्को नारावाजी विच प्रहरीले आफ्नो सुरक्षा घेरामा राखेर ज्ञवालीलाई हल बाहिर निकाल्दै गर्दा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई दूब्र्यवहार समेत गरेका थिए ।