बुटवल, १ साउन । लुम्बिनी प्रदेशमा चारवटा मन्त्रालयको नाम हेरफेर गरिएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले चारवटा मन्त्रालयको नाम हेरफेर गरेको हो ।
मन्त्रिपरिषद बैठकले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालय नामाकरण गरिएको छ ।
यस्तै कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनाइएको छ । त्यसैगरी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य मन्त्रालय मात्र बनाइएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्माले बताउनु भयो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई जना हलुका सवारी चालकको अस्थायी दरवन्दी आ.व. २०७९\८० का लागी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र जगदिशपुर बर्ड स्याङचुरी (पंक्षी आरक्ष) कार्ययोजना व्यवस्थापना योजना (२०७९\८०) स्वीकृत गरेको छ ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालय प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम तथा यातायात व्यवस्था मन्त्रालय कार्यरत प्रदेश सचिव (प्रशासन सेवा, रा.प.प्रथम श्रेणी) श्री दिपक राज नेपाललाई जिम्मेवारी सहित कामकाज गर्न दिन निर्णय भएको मन्त्री शर्माले बताउनु भयो ।