प्रदेशका सरकारी अस्पतालमा आउने बिरामीहरुकालागि रगत पनि निःशुल्क
बुटवल, १ साउन । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि बेड तथा टिकट निःशुल्क ब्यवस्था गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले आजदेखि लागू हुनेगरी रुपन्देहीको बुटवल स्थित लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने विरामीहरुका लागि निःशुल्क बेड तथा निःशुल्क टिकटको व्यवस्था गरेको हो । लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा आजैदुखि ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको हो ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । ओपिडी र बेड निःशुल्क गर्न सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालकन अनुसार उपचारका लागि आउने विरामीहरुलाई टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्दछ ।
आजैदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि रगत पनि निःशुल्क हुने भएको छ । रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्र बुटवलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले बजेटमा निःशुल्क रगतका लागि ३ करोड रुपैयांँ वजेट बिनियोजन गरेको छ । अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकाल र रक्तसंचार केन्द्रका तर्फबाट प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त संचार सेवा केन्द्रमा गएपछि केन्द्रले पूर्णरुपमा निःशुल्क रगत उपलब्ध गराउने छ । यसअघि एक युनिट रगतका लागि करिब ८ सय रुपैयां शुल्क लाग्ने गर्दथ्यो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले जानकारी गराउनु भयो ।