बुटवल, १६ असार । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिकामा १५ जना विरामी भएका छन् । बुटवल–१२ नयाँगाउँका ६ जना, बुटवल ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुईजना गरी १५ जना बिरामी परेका हुन् ।
विरामी परेकामध्ये पाँचजनाको आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरी प्रमुख के्सीका अनुसार जंगलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका हुन् ।
यस्तै बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यसैगरी बुटवल–१३ बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशिला रोका, २८ वर्षीया रिमा विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक, ५० वर्षीय हुमबहादुर विक बिरामी भएको प्रहरीले जनाएको छ । बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।