बुटवल, १६ असार । बुटवल देविनगर स्थित बेष्टर्न क्रिकेट एकेडेमीमा संचालन भएको एक हप्ते विशेष क्रिकेट क्याम्प समापन भएको छ । भारत मेघालय यु–१९ को प्रमुख कोच आईसिसि लेभल २ कोच एस पि यादवले खेलाडीहरुलाई एक हप्तासम्म क्याम्पमा प्रशिक्षण दिएका छन् ।
समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्यालले खेल पुर्वाधार र खेलाडीको विकासमा नगरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
क्याम्पका प्रशिक्षक आईसिसि लेभल २ कोच एस पि यादवले नेपाली युवा क्रिकेटरहरुमा धेरै सम्भावना देखेको बताउनुभयो । हरेक खेल सिक्न खेलाडीमा लगन र निरन्तरता जरुरी रहने भन्दै उहांले नेपाली खेलाडीमा क्रिकेट सिक्ने चाहना भेटेको बताउनुभयो ।
कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल क्रिकेट संघका सचिव प्रशान्त बिक्रम मल्ल, रुपन्देही जिल्ला क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप मल्ल, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले खेल विकासमा सबैको क्षेत्रबाट हातेमालो जरुरी रहेको बताउनुभयो ।
एकेडेमीका अध्यक्ष भुवन पाण्डेले क्रिकेट खेलप्रति रुचि भएका खेलाडीहरुलाई लक्षित गरि नियमित वार्षिक कार्यक्रम अनुसार प्रशिक्षण कार्यक्रम गरेको बताउनु भयो । कोभिड संक्रमणका कारण दुई वर्ष स्थानियस्तरमा नै प्रशिक्षण गरिदै आएको भएपनि अन्तर्राष्ट्रिय कोचबाट गरिने क्याम्पबाट खेलाडी पहिचान गरि अगाडी बढ्न मद्दत मिल्ने उहांले बताउनुभयो । एकेडेमीमा ४५ जना खेलाडीहरुले प्रशिक्षण लिएका थिए ।