तिलोत्तमा, १५ असार । १९ औं राष्ट्रिय धान दिवस बिभिन्न ठाउंमा धान रोप्ने कार्यक्रम गरेर मनाईएको छ ।
धान दिवसकै अवसरमा रुपन्देहीका तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाले पनि ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ धान दिवस मनाएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको कृषि संजालको कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँण र उप प्रमुख जागेश्वरी देवि चौधरीले धान रोप्नुभएको छ ।
सो अवसरमा नगर प्रमुख खाँणले अब कृषि पेशालाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिनुभयो । आधुनिक कृषि पेसालाई बढवा दिदै नगरलाई अर्गानिक र आत्मनिर्भर बनाउने नगरप्रमुख खाँणले बताउनु भयो ।
यस्तै बुटवल उपमहानगरपालिकाले बुटवल १९ मोतिपुरको मनहरापुरमा धान दिवस मनाएको छ । बुटवल १९ को आयोजनामा प्रमुख खेलराज पाण्डे लगायत विभिन्न वडाका वडाध्यक्षहरुको सहभागितामा स्थानीय तिर्थ थारुको खेतमा धान रोपिएको हो ।
