बुटवल, ८ असार । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९।८० कालागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख खेलराज पाण्डेले नगर सभाको एघारौं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्कको अवधारणालाई सुनिश्चित गर्ने विषय प्राथमिकतामा छ । बुटवलका प्रत्येक वडालाई फरक–फरक पहिचान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘एक वडा एक पहिचान’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने नगर प्रमुख पाण्डेले बताउनु भयो । तिनाउलाई तटबन्ध गरी ड्याम निर्माण गरेर हिउंदमा पानी संकलन गरेर स्टिमर चलाउने, सांझमा आरती गर्नेगरी तिनाउ आरती केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
दुबैतर्फ रात्रीकालिन बजार तथा वाकिङ वे निर्माण गर्न पहल गर्ने, बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला र बेलबास–बेथरी सडक यथा शीघ्र निर्माण र मर्मत गर्न पहल गर्ने, बुटवल वडा नंं १४ देखि १९ (मोतिपुर सेमलार क्षेत्र) कृषि, पशुपालन, आधुनिक बसोबासको क्षेत्रका रुपमा विकास गर्दै ग्रीन सिटीमा रुपान्तरण गर्ने कार्यक्रममा उल्लेख छ ।
यस्तै पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकास गर्ने, बुटवल मण्डपलाई गिरिजाप्रसाद कोईराला बुटवल मण्डप नामाकरण गरिने र मेयर भौतिक पुर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषिबजार, बुटवल ७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल–१६ कर्साघाटमा शवदाह स्थल, बुटवल १ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण, नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना र १५ बेडको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालन गर्न प्रकृया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वस्थ शिशुदेखि ज्येष्ठ नागरिकसम्म नगरप्रमुख कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्यका विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।
जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच र औषधिउपचार गर्न ‘जनतासंग नगर प्रमुख कार्यक्रम’ लाई प्रभावकारी रुपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम, क्षयरोग मुक्त बुटवल अभियान, स्वस्थ जीवनशैलीका लागि योग कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
नगर क्षेत्रभित्र सार्वजनिक नीजि साझेदारीमा अत्याधुनिक डाइनोस्टिक ल्याब सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा डिप्लोमा तहको प्यारामेडिकल लगायतका विषय अध्यापन गराउन प्रकृया अघि बढाई यसलाई यस क्षेत्रकै प्रमुख अस्पतालका रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलक तथा दुबो लगाएर हरियालीयुक्त बनाइने उल्लेख छ ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बुटवलको जीवनयापनको महत्वपूर्ण आधारका रुपमा ग्रहण गरी नवीनतम सीप तथा प्रविधिको प्रयोग मार्फत आधुनिकीकरण तथा व्यवासयिकरण गरिने उल्लेख छ ।
कृषिमा सम्भाव्यताको आधारमा एक वडा एक बाली उत्पादन कार्यक्रम गरिने उल्लेख छ । रोजगार प्रवद्र्धनतर्फ श्रम बैंक स्थापना, महिला आयआर्जन कार्यक्रम सञ्चालन, कोसेली घर सञ्चालन लगायत रहेका छन् ।
सञ्चारतर्फ पुर्व नगरप्रमुख स्वर्गीय सुर्यप्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना, पत्रकार स्वास्थ्य वीमा, सञ्चार उपकरण खरिदमा अनुदान, पत्रकारिता अनुसन्धान केन्द्र स्थापना गर्न पहल, वन तथा वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार स्थापना, जेष्ठ पत्रकार सम्मान, आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बुटवल उपमहानगरको शहरी पूर्वाधार विकासतर्फ ज्योतिनगर, लक्ष्मीनगर चुरे पहाडको भू–क्षयभएको क्षेत्रबाट माटो कटान गरी पार्क र खेलकूद क्षेत्र बनाउन संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।