काठमाडौं, ८ असार । एक वकिल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश विच भएको पैसा लेनदेनको अडियो सार्वजनिक भएको छ ।
मुद्दा मिलाउन वकिल र न्यायाधीसबीच घुस लेनदेनको विषयको अडियो बाहिरिएपछि न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको छ ।
न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो ।
कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । पोखरेलले तामाङलाई छुटाउँदा आफूहरूको भागमा दुई करोड पर्ने उल्लेख गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका छन् ।
संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गरिएको छ । त्यसमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ । यसै विषयमा छलफल गर्न न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
