भैरहवा, ४ असार । जिल्ला समन्वय समिति रुपन्देही (जिसस) मा गठबन्धनको प्यानल बिजयी भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनबाट जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई बिजयी भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका चपाईले २० मत प्राप्त गरी विजयी भएका हुन् । चपाईका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नर बहादुर घर्ती मगरले १२ मत ल्याएका छन् ।
उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, (लोसपा) का उम्मेदवार रामकृपाल धोबीले १६ मत प्राप्त गरी विजयी भएका छन् । ३२ मत रहेको जिसस रुपन्देहीको निर्वाचनमा उपप्रमुख पदकी उम्मेदवार एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९ र लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्याएर विजयी भएका छन् ।
त्यसै गरी नेकपा (माओवादी केन्द्र) की मन्जु परियार १८ र लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।
