बुटवल, २ असार । संस्थागत अनुभव आदान प्रदान गर्ने र संस्थागत विकासमा नयाँ अवधारणा अवलम्वन गर्ने उद्देश्य सहित आन्तरिक भ्रमणमा रहेको पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलमा स्वागत गरेको छ ।
पाल्पा बाट आएको टोलीलाई बुधबार साँझ बुटवल उद्योग वाणिज्य संघले संघको सचिवालयमा स्वागत गर्दै दुई पक्षीय सम्बन्धका विषयमा छलफल गरिएको थियो ।
सो अवसरमा बुटवल र पाल्पा उद्योग वाणिज्य संघको संस्थागत बिकास र संस्थाले उद्योगी ब्यवसायीको हकहितका क्षेत्रमा निर्वाह गरेको भूमिकाका विषयमा जानकारी आदानप्रदान गरिएको थियो ।
पाल्पा बाट आएको टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा गरेको योगदानको बारेमा जानकारी गराउनु भयो ।
२००९ सालमा संघको तदर्थ समिति गठन भएदेखि उद्योगी व्यवसायीहरुको हकहितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना, बुटवल बहुमुखी क्याम्पसमा विज्ञान विषय पठनपाठनका लागि विज्ञान भवन निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसुति भवन र क्याविन निर्माणलगायतका काम संघको नेतृत्व र लगानीमा भएको जानकारी गराउनु भयो ।
यस्तै सुरक्षालाई महत्व दिएर बुटवलका बिभिन्न स्थानमा प्रहरी विट निर्माण, ईलाका प्रहरी कार्यालय बुटवलमा थुनुवा कक्ष निर्माण लगायतका काममा आर्थिक सहित नेतृत्वदायी भूमिका निर्वाह गरिएको अध्यक्ष कसजुले जानकारी गराउनु भयो ।
त्यस्तै पछिल्लो कोरोना महामारीको समयमा उपचार सेवालाई सहज बनाउनको लागि आम्दा अस्पतालमा आईसीयु सहितको कोभिड–१९ वार्ड स्थापना गरिएको समेत उहाँले जानकारी गराउनु भयो ।
यस क्षेत्रको आर्थिक विकासको लागि महत्वपुर्ण भूमिका खेल्दै आएको संघले मोतिपुर औद्योगिक क्षेत्र, सिद्धार्थ राजमार्गको स्तरोन्नति, औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपको जग्गा प्राप्ति, पाल्पाको सिद्धबाबा सडक क्षेत्रलाई सुरक्षित बनाउने लगायतका योजनाहरुकोलागि समेत बहस पैरवी गर्दै आएको र पैरवी गरिरहेका कतिपय योजनाहरु अझै कार्यान्वयनमा आर्ईनसकेको जानकारी गराउनु भयो ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पा उद्योग वाणिज्य संघ र बुटवल उद्योग वाणिज्य संघको स्थापना एउटै समयमा भएको र आर्थिक तथा सामाजिक विकासमा गरेका योगदान पनि एउटै प्रकृतिको भएको जानकारी गराउनु भयो । उहाँले पर्यटन विकासको लागि पाल्पा राम्रो गन्तव्य भएपनि बुटवल–पाल्पा सडकको दुरावस्थाका कारण सोचेजस्तो पर्यटन विकास गर्न नसकिएको उल्लेख गर्नुभयो । पाल्पामा ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको बताउँदै अध्यक्ष महर्जनले लुम्बिनी आउने पर्यटकलाई पाल्पा लैजानको लागि आवश्यक सहयोग गर्न बुटवल उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो । पाल्पामा ऐतिहासिक भगवती मन्दिर, रानीमहल, भैरवस्थान, चारधाम मध्येको एक रुरु क्षेत्र रिडीको ऋषिकेश मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिक केन्द्र रहेकोले पाल्पाको पर्यटन विकासका लागि प्रचारप्रसार संगसंगै यातायात पूर्वाधारको विकासमा सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
बुटवलको व्यापारिक विकास र पाल्पाको पर्यटन विकासलाई एकै साथ अगाडी बढाउनका लागि दुई संघले सहकार्य गर्न आवश्यक रहेको भन्दै यसको विकासले गति लिएमा दुबै क्षेत्रले फाईदा लिन सक्ने भन्दै अध्यक्ष महर्जनले लुम्बिनी सर्किटमा पाल्पा नपरेकोमा गुनासो गर्दै लुम्बिनी सर्किटमा पाल्पालाई पनि जोड्नका लागि आवश्यक भूमिकाका लागि बुटवल उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेप्रसाद श्रेष्ठले बुटवलको व्यापार र पाल्पाको पर्यटनलाई जोडेर एकिकृत कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो । उहाँले बुटवललाई पनि पर्यटकको गन्तव्य बनाउन सकिने बताउँदै यहाँको ऐतिहासिक जीतगढी किल्ला, मणिमुकुन्द सेनको सितकालिन दरवार र ऐतिहासिक बटौली बजारको संरक्षण गर्न सक्ने हो भने यहाँको पर्यटन विकास संगै व्यापार व्यवसायको पनि विकास गर्न सकिने र यहाँ आउने पर्यटकलाई पाल्पा पु¥याउन पनि सहज हुने भनाई राख्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघले हालसम्म गरेका गतिबिधिहरु, सञ्चालन गरेका कार्यक्रमहरु र पाईपलाईनमा रहेका कार्यक्रमहरुको बारेमा प्रस्तुति गर्नुभएको थियो ।
स्वागत कार्यक्रम महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो । पाल्पाबाट संस्थागत भ्रमणमा निस्केको टोली स्याङ्जा, पोखरा, तनहुँ, लमजुङ, चितवन, नवलपरासी, बुटवल हुँदै पाल्पा फर्किएको पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराईले जानकारी गराउनु भयो ।