तिलोत्तमा, ३१ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा डुबेर एकजनाको मृत्यु भएको छ ।
स्वीमिङ्ग गर्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पौड्याल न्यू लाइट स्कूलका शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
पौड्याल सोमबार रिसोर्टको स्वीमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताउनुभयो ।
पौड्यालका एक सहकर्मीले भने रिसोर्टको व्यवस्थापनमा गम्भीर लापरवाही हुँदा पौड्यालको मृत्यु भएको बताएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।