चितवन,२७ जेठ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सो सडक खण्डमा पर्ने चितवनको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो ।
बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशिलसिंह राठौरका अनुसार शुक्रबार बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
पहिरोका कारण बिहीबार पनि सवारी साधन बीचबाटोमै रोकिएका थिए । सडकमा खसेको पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुराउने काम भइरहेका बेला फेरि खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन् ।
पहिरो पन्छाउने काम जारी छ । तर सडकमा सवारी साधनको लामो लाइन भएकाले सहज रुपमा यातायात संचालन हुन समय लाग्ने राठौरले बताए ।
सडकमा सवारी साधनको लामो लाइन लागेको छ । जाम भएका सवारी साधनको लाइन चितवनको रामनगरसम्म छ ।
यस्तै तनहुँको आँबुखैरेनी नजिकै सडक भासिएपछि पोखरा लगायतका ठाउँमा जाने सवारी साधनलाई पनि भरतपुरकै इलाकामा रोक्ने काम गरिएको प्रहरीले जनाएको छ ।
