सियारी । रुपन्देहीको सियारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरे र उपाध्यक्ष तारा थारुले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गरेपछि अध्यक्ष घिमिरेले ७० वर्ष माथीका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि वितरण गर्ने र सुत्केरी तथा नवजात शिशुलाई तीन महिनासम्म घरमै पुगेर खोप लगाउने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
अध्यक्ष घिमिरेले गाउँपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत आगामी साउन १ गतेदेखि गाउँपालिकाले निशुल्क रुपमा वितरणको व्यवस्था मिलाउने समेत निर्णय गर्नुभयो ।
सो अवसरमा बोल्दै अध्यक्ष घिमिरेले गाउँपालिकालाई आवश्यक पर्ने वाहेक अन्य ठेक्कापट्टा मार्फत नदीजन्य पदार्थ निकासी गर्दा मेसिनको प्रयोग निषेध गरिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा, खेलकुद तथा शिक्षामन्त्री वसिउद्दिन खानले विगतका जनप्रतिनिधिले शुरु गरेका राम्रा कामलाई अनुशरण गर्न र जनताको चाहना अनुसार नयां काम गर्न सुझाव दिनुभयो । उहांले सियारीको विकासमा प्रदेश सरकार सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष अयोध्याप्रसाद थारुले सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा अघि बढ्न नयां नेतृत्वलाई सुझाव दिनुभयो ।
सोमबार सियारी गाउँपालिकाका अध्यक्ष घिमिरे र उपाध्यक्ष थारु सहित ३७ जना जनप्रतिनिधले पदभार ग्रहण गरेका थिए ।
