बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्यालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण संगै नगरप्रमुख पाण्डेयले पहिलो निर्णयका रुपमा बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेका छन् ।
बुटवलमा बुटवल उपमहानगरको तथ्यांक अनुसार करिब २० हजार सुकुम्बासी रहेको बुटवलमा अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिई वार्डबाटै नामसारीको काम शुरु गर्ने नगर प्रमुख पाण्डेयले बताए । पाण्डेयले भने–‘दीर्घकालीनरुपमा जग्गाधनी प्रमाणपत्र वितरणको लागि राष्ट्रिय भूमि आयोगसंग सहकार्य गर्नेछौं ।’
नगर प्रमुख पाण्डेयले चौराहा–गोलपार्क सडक, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा रोखर काम गर्ने बताए ।
पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।
पदभार ग्रहणअघि हिन्दुपरम्परा अनुसार पूजा गरेर शुभ साइतमा पदभार ग्रहण गरिएको हो । पाण्डेयको सपथ कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्व मन्त्री,पूर्व सांसद,सांसद,निबर्तमान मेयर–उपमेयरहरुको सहभागिता रहेको थियो ।