तिलोत्तमा, ३ जेठ । तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा निर्वाचन कार्यालयका कर्मचारीले गल तथ्यांक दिएका कारण मतगणना रोकिएको छ । निर्वाचनमा खटिएका कर्मचारीले मत सार्वजनिक गर्ने बेलामा बास्तविक मत भन्दा एमाले उम्मेदवारको मत धेरै बताए पछि मतगणना रोकिएको हो । कर्मचारीले नेपाली कांग्रेसको १४१ हुनुपर्नेमा ११४ र एमालेको २५९ हुनुपर्नेमा २९६ को गलत तथ्यांक दिएका थिए ।
तिलोत्तमा २ र १६ को मतगणना भैरहेको बेला १६ को मत परिणामको रेकर्ड राख्दा मतगणना प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारीहरुबाट राखिएको अभिलेख मेल नखाएका कारण विवाद सिर्जना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले जारी गरेको विज्ञप्तिमा मतगणना कार्यलाई चुस्त दुरुस्त राख्नका लागि मतपत्रको गणना गरिसकेपछि मतगणनामा खटिएका प्रतिनिधिहरुलाई गणना गरिएको राखिएको अभिलेखको पछाडी हस्ताक्षर गराई मात्र कम्प्युटरमा विवरण प्रविष्टि गर्ने गरी ब्यवस्था मिलाईएको उल्लेख गरिएको छ । अहिले मतगणना स्थल बाहिर नेपाली कांग्रेसका कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।
