बुटवल, ४ जेठ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । नेपाली कांग्रेसका विष्णु प्रसाद बस्याल ७ हजार ९८३ मत पाएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
बस्यालका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गरेका छन् । २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका चौधरी कांग्रेसका बस्यालसंग १ हजार ७१३ मतको अन्तरले पराजित भएका हुन् । पालिका अध्यक्षमा निर्वाचित बस्याल २ का वडाध्यक्ष हुन् ।
गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।
पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सुद्धोधन गाउँपालिकामा २७ हजार ५ सय ७८ मतदाता रहेकोमा २१ हजार ९ सय ६१ जनाले मताधिकार प्रयोग गरेका थिए ।
