बुटवल, ३ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसबाट बुटवलमा मेयरका उम्मेदवार खेलराज पाण्डे एमाले उम्मेदवार बाबुराम भट्टराई भन्दा फराकिलो मतान्तरले अगाडी छन् ।
१९ वटा वडा रहेको बुटवल उपमहानगरमा अहिलेसम्म १,२,३,४,५,१९,१८,१७ र १६ को नतिजा आइसकेको छ ।
नतिजा सार्वजनिक भएका वडाहरु मध्ये ४,५,१६ र १७ मा नेपाली कांग्रेसले जित निकालेको छ भने १९ र १८ एमालेले जितेको छ । १ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् भने २ मा समाजबादी, ३ मा माओबादी केन्द्रले जितेको छ ।
स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलमा मेयर पदका उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै अघि बढेका छन् ।
पाण्डेयले १० हजार ६११ मत प्राप्त गर्दै अग्र स्थानमा छन् । नेकपा एमालेका बाबुराम भट्टराईले ७ हजार ८२ मत प्राप्त गरेका छन् । भट्टराई पाण्डेभन्दा ३ हजार ५२९ मतले पछि रहेका छन् । यसैगरी राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ६४ मत प्राप्त गरेका छन् ।
उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले सूर्य चिन्हमा अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार २२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत प्राप्त गर्दा गुरुङले कलम चिन्हमा ५ हजार ६८२ मत पाएका छन् । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले हलो चिन्हमा २ हजार ३६३ मत प्राप्त गरेकी छन् । अहिले वडा न ६ र १५ को मतगणना जारी छ ।