गुल्मी, २ जेठ । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टिकाराम पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ६ हजार २६७ मत ल्याएका छन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार पारिश्वर ढकाललाई ६५६ मतले पराजित गरेका छन् । ढकालले ५ हजार ६११ मत प्राप्त गरेका छन् ।
पालिका उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामु निर्वाचित भएकी छन् । उनले ६ हजार २२४ मत ल्याएर विजयी भएकी हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार तेजकुमारी थापाले ५ हजार ५६१ मत प्राप्त गरेकि छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिकाका ८ वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेस र एउटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।
एमालेले वडा नम्बर १, २, ४, ७ र ८ मा, नेपाली कांग्रेसले ५ र ६ मा र माओवादी केन्द्रले ३ मा वडाध्यक्ष जितेको छ । गाउँपालिकामा १९ हजार २२५ जना मतदाता रहेकोमा १२ हजार ४३२ जनाले मतदान गरेका थिए ।