बुटवल, २१ बैशाख । रुपन्देहीको देवदहमा गठबन्धनका उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले बुधबार वडा नं ३ मा घरदैलो कार्यक्रम गर्दै जनताका समस्या सुन्ने र आफ्ना प्रतिवद्धता जनता समक्ष राख्ने गरेका छन् ।
घरदैलोका क्रममा देवदहमा गठवन्धनका उम्मेदवार काँग्रेस नेता हिरा बहादुर खत्रीले शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा फड्को मार्दै अगाडी बढ्ने आफुहरुको पहिलो एजेण्डा भएको बताउनु भएको छ ।
उहांले बालशिक्षा देखि कक्षा १२ सम्म निःशुल्क पठनपाठन गर्न पाउने वातावरण सृजना गर्ने उल्लेख गर्नु भयो । २०७४ सालको निर्वाचनबाट मेयर पदमा निर्वाचित भैसक्नु भएका नेता खत्रीले निःशुल्क शिक्षाको व्यवस्था अघिल्लो कार्यकालमा नै पूरा गर्ने योजना लिए पनि विभिन्न कारणले गर्दा अगाडी सारिएका काम पनि पूरा गर्न नसकिएको दुःखेसो व्यक्त गर्दै यो कार्यकालमा पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भयो ।
अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरि चुनावी मैदानमा होमिएको थियो । सो निर्वाचनमा देवदहमा रहेको १२ वटा वडाबाट आफूहरुको बहुमतको जित नभएको, उपमेयर पदमा पनि जित हासिल गर्न नसकेको र आफू एक्लै भएको कारणले आफूले लिएका प्रतिवद्धता र अगाडी सारेका कामहरु पूरा गर्न नसकेको भन्दै यो पटक आफ्नो गठबन्धनलाई मत दिएर जिताउन आग्रह गर्नु भएको थियो ।
नेता खत्रीले देवदहमा अझै थुप्रै वाडहरुमा खरका छाना रहेकोले विस्तारै खरका छाना हटाई जस्तापाताले घर सिंगारिने बताउनु भयो । आफू पनि किसानको छोरा भएकाले किसानका सबै समस्या र पिडा थाहा भएको भन्दै नेता खत्रीले कृषकले राहत पाउने खालका कामहरु सञ्चालन भैरहेको र अझ त्यसलाई व्यवस्थित बनाउदै लैजाने प्रतिवद्धता जनाउनु भएको थियो ।
त्यस्तै गरि गठबन्धन टोलीले वडा नं ४ मा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा वडा नं ३ र ४ बाट नेपाली कांग्रेसबाट वडा अध्यक्ष, सदस्य लगाएतका पदका उमेदवारहरुको पनि सहभागिता रहेको थियो ।