बुटवल, १९ चैत्र । पश्चिमाञ्चल टैङ्कर व्यवसायी संघले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने जनाएको छ । सामाजिक उत्तरदायित्व बहनमा व्यवसायीहरू जिम्मेवार हुनुपर्ने र ढुवानी बन्द गर्दा समाजमा समेत नकरात्मक सन्देश जाने देखिएकाले हाललाई निगमले गरेको अनुरोधलाई स्विकार गरी आन्दोलनको कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ । संघले संयुक्त ६ बुँदे मागहरु यथावतै रहेको भन्दै हाललाई आन्दोलनको कार्यक्रम मात्र स्थगित गरिएको जनाएको छ ।
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भूपराज अर्यालले ढुवानी रोक्नेलगायतका कुनै पनि आन्दोलनका कार्यक्रममा संघको सहभागिता नरहेको बताउनु भयो । नेपाल आयल निगम समक्ष संयुक्तरुपमा प्रस्तुत गरिएका ६ बुँदे माग वार्ताद्धारा समाधान गर्ने गरी पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले आन्दोलन नगर्ने जनाएको हो ।
संघका मागलाई नेपाल आयल निगमले वार्ताको माध्यमबाट पुरा गरिदिने आश्वासन दिएकोले आन्दोलनमा सहभागिता नजनाएको संघका अध्यक्ष राकेश कुमार कसौधनले बताउनु भयो ।
संघका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने जिम्मेवारीमा रहेका हामी ब्यवसायीहरुले ढुवानी कार्य बन्द गर्दा समाजमा नकारात्मक सन्देश जाने देखिएकाले निगमले गरेको अनुरोधलाई स्विकार गर्दै ६ बुंदे संयुक्त मागहरु यथावतै राखेर आन्दोलनको कार्यक्रम स्थगित गरिएको बताउनु भयो ।
संघको यही चैत १६ गते बसेको बैठकबाट नेपाल आयल निगम, नेपाल सरकार र व्यबसायी बीच वार्ता मार्फत समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।
