उच्च सरकारी वकिल कार्यालय बुटवलको नवनिर्मित भवनको उद्घाटन
बुटवल, १४ चैत्र । महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुलुकमा भएको ठुलो परिवर्तनको अनुभूति जनताले गर्न नपाएको बताउनु भएको छ । मुलुकको शासन व्यवस्थामा धेरै ठुलो परिवतन भएपनि नेतृत्वतहमा रहनेहरुको वानी ब्यहोरा, आचरण र दृष्टिकोणमा परिवर्तन हुन नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्नुभयो ।
उच्च सरकारी वकिल कार्यालय बुटवलको नवनिर्मित भवनको सोमवार बुटवलमा समुद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले सुन्दर भवन भित्र प्रवेश गर्दै गर्दा न्याय सम्पादनमा अनुसंन्धानकर्ता ,अभियोजनकर्ता र न्यायाधीशहरुले आफ्नो बानी ब्यहोरा र आचरणमा सुधार गर्न जरुरी रहेको बताउनु भयो ।
महान्यायाधिवक्ता खातीले न्याय क्षेत्रको सवलता, सरलता र न्यायमा सवैको पहुच पुराउन राज्यले विशेष पहल गर्न र लगानीको वातावरण मिलाउन जरुरी रहेको औल्याउनु भयो । उहाँले तीन तहका सरकार बीचको समन्वयात्मक भूमिका जुन हिसावले हुनुपर्ने हो त्यो अनुरुप हुन नसक्दा जनताले गरेको आशा ईच्छा र चाहानअनुसार काम हुन नसकेको दाविगर्नु भयो ।
कार्यक्रममा उच्चअदालत बुटवलका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले मानविय एबम भौतिक संसाधनको उच्चतम प्रयोग र सदुपयोगवाट संस्थाका लक्ष्य र उपलब्धि हासिलगर्न सहज हुने धारणा राख्नुभयो । सुबिधा सम्पन्न भवनले उच्च सरकारी वकिल कार्यालय बुटवलको सेवा प्रवाहमा थप प्रभावकारी र गुणस्तरियता प्रदानगर्ने अपेक्षा लिएको उहांले बताउनु भयो ।
चार तले नवनिर्मित भवनको कूल लागत ५ करोड ५९ लाख रुपैयां रहेको ईन्जिनियर ध्रुव पौडेलले बताउनु भयो ।
बिस २०७६ साल मंसिर १८ गते भवन निर्माणका लागि निर्माण कम्पनीसंग सम्झौता भएको उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता मोहन सागर बश्यालले बताउनु भयो । कार्यक्रममा न्यायाधिवक्ता पदम पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, उच्च सरकारी वकिल कार्यालय बुटवलका सूचना अधिकारी लक्ष्मी न्यौपाने लगायतले न्याय क्षेत्रले दिने सेवाप्रवाहमा नयां भवनवाट सोच नै परिष्कृत हुने धारणा राख्नु भएको थियो ।