बुटवल, २६ फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्न मापदण्ड तय गरेको छ । स्थानीय तहका उम्मद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर टिकट वितरण गरिने कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ ।
मंगलवार बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्नका लागि बुधबार प्रदेश पार्टी कार्यालय बुटवल तामनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभापति अमर सिंह पुनले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा गरेको योगदान, जनाधारको मूल्यांकन, कार्य क्षमता, दक्षता, समावेशीता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागको मूल्यांकन र प्रतिस्पर्धी पार्टीका उम्मेदवार समेतलाई मध्यनजर गरी उम्मेदवार छनोट गरिने बताउनु भयो ।
पत्रकार सम्मेलनमा सभापति पुनले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन नगरी एक्लै निर्वाचन लड्न सक्षम रहेको बताउँदै अन्य पार्टीहरुसँग गठबन्धन गर्ने वा नगर्ने बिषयमा स्थानीय तहको आवश्यक्ता र परिस्थिति अनुसार पार्टीको केन्द्रिय नीति, निर्देशनका आधारमा मात्रै गरिने बताउनु भयो ।
स्थानीय तहको आवश्यक्ता र परिस्थिति जन्य अवस्थालाई मध्येनजर गरी सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग पनि पार्टीले निर्वाचनमा गठबन्धन गर्न सक्ने पनि सभापति पुनले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सभापति पुनले निर्वाचनका लागि टिकट माग्न नेताको घर दैलोमा होइंन जनताको घर–घरमा जना आग्रह गर्नुभएको छ । सभापति पुनले भन्नुभयो–‘टिकट खोज्न नेताको घर घरमा होइन जनताको घर घरमा जानुहोस् । पैसामा टिकट वितरण हुदैन् । जसले जनताको घर घरमा गएर स्थानीयको मन जित्छ उसैले टिकट पाउंछ ।’
स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई हार्ने छुट नभएको बताउँदै सभापति पुनले स्थानीय तहको निर्वाचन नजिते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्न गाह्रो हुने बताउनु भयो । संविधानको कार्यान्वयन र मुलुकको संमृद्धिका लागि नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै पर्ने आवश्यकता रहेको उहांले बताउनु भयो । मुलुकको राजनीतिक परिस्थिति यस्तै रहे लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी गर्नुभयो ।
सभापति पुनले संसदबाट अनुमोदन भएको एमसीसी देश र जनताको हितमा रहेको बताउनु भयो । केही राजनीतिक दलले एमसिसि पास गर्न सहयोग गरेपनि चुनावमा जान कुनै एजेण्डा नभएर एमसिसिलाई गलत प्रचार गरेर राजनीतिक मुद्धा बनाएको आरोप लगाउनु भयो ।
लुम्बिनी प्रदेश कोषाध्यक्षमा राना र प्रशिक्षण विभाग प्रमुखमा श्रेष्ठ मनोनित
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश रानालाई मनोनित गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा १३(६)१(घ) बमोजिम रानालाई सभापति पुनले कोषाध्यक्षमा मनोनित गर्नुभएको हो । यस्तै कांग्रेसको नियमावलीको धारा ३३ को २(क) बमोजिम प्रदेश प्रशिक्षण विभागको प्रमुखमा उपसभापति भुवनप्रसाद श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।