भैरहवा, २६ फागुन । लुम्बिनी प्रदेशकी श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्री पूरमति ढेंगा मगरले यातायात क्षेत्रका समस्याहरु नीति नियमहरु बनाएर समाधान गर्न प्रदेश सरकार क्रियाशील रहेको बताउनु भएको छ ।
ई रिक्सा र टेम्पो चालकहरुको समस्या समाधानलाई आफ्नो मन्त्रालयले प्राथमिकतामा राखेको उहांले बताउनु भयो । बिहीबार भैरहवामा सम्पन्न चालक सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै मन्त्री ढेंगाले कानून उल्लंघन गर्ने सवारीहरुलाई कार्यवाहीको दायरामा ल्याउन पनि ट्राफिक प्रहरीहरुलाई निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव दिपकराज नेपालले मन्त्रालय श्रम र यातायात नीति बनाउन लागिपरेकाले चालकहरुको समस्या समाधान हुने गरि सम्बोधन गर्ने बताउनु भयो ।
कार्यक्रममा ई–रिक्सा, टेम्पो चालकहरुले स्थानीय सरकार आफ्नो रोजगारीमा बाधक बनेको आरोप लगाएका थिए । स्वरोजगार हुन खरिद गरेको ई–रिक्सा र टेम्पो सञ्चालन गर्न नदिई सरकारले उनीहरुलाई अनागरिक भएको आभाष दिलाएको चालकहरुको आरोप छ ।
कार्यक्रममा तिनाउ टेम्पो यातायात प्रालिका सचिव बाघ बहादुर बुढाले बुटवल उपमहानगरपालिका कमिशनको चक्करमा लागेर ई–रिक्सा एवं टेम्पोको ब्यवस्थापन गर्न नसकेको आरोप लगाउनु भयो । ‘मेयर साबले एउटा पनि रिक्सा, टेम्पो चल्न दिन्न भन्नुहुन्थ्यो, अहिले आएर राप्ती, भेरी, कर्णाली जताको पनि रिक्सा चल्न हुने हामीले लुम्बिनीमा दर्ता गरेको टेम्पो चल्न नहुने ?– बुढाले भन्नुभयो –‘हामीलाई आफ्नै देशका नागरिक हौ कि तेश्रो मुलुकका ?’ उनीहरुले प्रहरी र स्थानीय तह मिलेर चालकहरुलाई दुख दिई रहेको गुनासो गरे ।
साविकमा लुम्बिनी अञ्चलमै गाडी गुडाउने गरेका चालकहरुलाई अहिले प्रदेश संरचना गठन पछि २ जिल्लामै सिमित गरिएको उनीहरुको गुनासो थियो । यातायात कार्यालय रातीमा बन्द हुदा रुट परमिटकै कारण ट्राफिक प्रहरीले सास्ती दिने गरेको उनिहरुको गुनासो थियो ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी मोहन बहादुर खाँणले अत्याधिक सवारी दुर्घटनाहरु चालककै लापारवाहीले हुने गरेको कारण प्रदेश ट्राफिक कार्यालयले दुर्घटना न्यूनिकरणका लागि चालकहरुलाई सचेतनामा पुनर्ताजगी गराई रहेको बताउनु भयो ।