भैरहवा, २२ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले एमसिसि परियोजनाले राष्ट्रलाई कमजोर बनाउँछ भन्नु गलत भएको बताउनु भएको छ । यो परियोजनाले देशको समृद्धि र विकास हुन्नुका साथै यसले नेपालको राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गर्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको ६३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उद्योगी, व्यवसायीको चाहनाअनुसार एमसीसी परियोजना पास गरिएको बताउनु भयो । एमसीसी परियोजना नेपालको जलविद्युत् क्षेत्र लक्षित भएकाले नेपालमा उत्पादित विद्युत्लाई खेर जान नदिएर रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्न सघाउ पुग्ने उहांले दाबी गर्नुभयो ।
एमसीसी संसद्मा टेबल हुँदा कांग्रेसलाई पास पनि गर्ने र गठबन्धन सरकार पनि बचाउने राजनीतिक जिम्मेवारी भएको सुनाउदै मन्त्री खाँणले सबैको सहयोगमा एमसीसी पास गरिएको बताउनु भयो ।
यस्तै गृहमन्त्री खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै सुरक्षा व्यवस्थामा कमी हुन नदिइने प्रतिबद्धता जनाउनु भयो ।
मुलुकको समृद्धि र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि यसले ठूलो भूमिका खेल्ने उहांको भनाइ छ । विमानस्थलले लुम्बिनी प्रदेशका साथै मुलुककै विकासमा नयाँ उचाइ थप्ने विश्वास ब्यक्त गर्नुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ फागुनदेखि सुरु गरिएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकिएको छ । थाइल्यान्डबाट ल्याइएको एरो थाईको विशेष विमानबाट यान्त्रिक परीक्षण उडान गरिएको हो । त्यस क्रममा उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण गरिएको थियो ।
थाइल्यान्डका पाइलटसहितको प्राविधिक टोलीले ९ दिनसम्म यान्त्रिक उडान गरेर सञ्चारलगायत उपकरणको जाँच गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताउनु भयो । उहांका अनुसार यान्त्रिक उडानको प्रारम्भिक रिपोर्टमा विमानस्थलमा जडान भएका सञ्चारलगायत उपकरण ठीक पाइएको छ । आउँदो वैशाख बुद्धपूर्णिमा देखि विमानस्थलमा नियमित उडान हुनेछ ।
तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले शिलान्यास गर्नुभएको विमानस्थल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सञ्चालनमा ल्याउन लागेको हो ।