बुटवल, १६ फागुन । एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा विभिन्न दलले आज नेपाल वन्दको आह्वान गरेका छन् । लुम्बिनी प्रदेशमा नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ ।
नेकपा माओबादी (विप्लव) नेतृत्व सहित बिभिन्न ६ वटा राजनीतिक दलीय मोर्चाले संघीय संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज (सोमबार) नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक सवारीका साधन चलेका छैनन् । निजी सवारी साधन भने फाटफुट रुपमा गुडेका छन् । सहरका भित्री भागमा रहेका अधिकांश पसलहरु भने खुलेका छन् ।
लुम्बिनी प्रदेशका मुख्य शहरहरु रुपन्देहीको बुटवल, भैरहवा, खैरेनी, मणिग्राम, दाङको भालुवाङ, लमही, घोराही र बाँकेको नेपालगन्जलगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसल र शहरका मुख्य बजार आंशिक रुपमा खुलेका छन् । विद्यालयहरुले भने सोमबार बिहानै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि शहरका मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।
नवलपुरमा दुई जना बन्दकर्ता पक्राउ

पूर्वी नवलपरासीको पुरानो कावासोतीमा बन्द सफल पार्न टायर बाल्ने क्रममा दुई जना आन्दोलनकारी पक्राउ परेका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलका अनुसार नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका जिल्ला सेक्रेटरी भिमाद मगर र नेकपा क्रान्तिकारी माओवादी निकट राष्ट्रिय युवा लिगका इलाका सदस्य मनिस विक पक्राउ परेका छन् ।
आन्दोलनकारीहरु कावासोतीको फलफूल चोक, दलदले, चोरमारा लगायतका चोकचोकमा जम्मा भएका छन् ।
यता पूर्वी नवलपरासीमा पनि बन्दको प्रभाव परेको छ । सडकमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने केही छिटफुट मात्रामा मालबहाक ट्रकहरु चलेका छन् । त्यसैगरी बजार पसलहरु छिटपुट मात्रामा खुलेका छन् । नवलपुरमा विद्यार्थीहरुले विहान खुलेका कलेजहरुको पठनपाठन बन्द गराएका छन् । त्यसैगरी पश्चिम नवलपरासीमा पनि बन्दको प्रभाव गरेको छ ।