तिलोत्तमा, १३ फागुन । नेपाली काँग्रेसले संगठनलाई चुस्त दुरुस्त र संगठन सुदृढिकरणको कामलाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप नगर तथा गाउँ पालिकाका वार्डहरुमा टोल समिति गठन तथा गठन भएका वडाहरुमा वडा अधिबेशन गराउने कामलाई प्राथमिक्तामा राखेको छ ।
हालै सम्पन्न जिल्ला कार्य समितिको बैठकले जिल्ला भित्रका सबै नगर तथा गाउँ पालिकाका वडाहरुमा वडा कार्यालय स्थापना तथा भएका वडाहरुलाई नियमित सञ्चालन र टोल समिति गठन कार्यलाई प्रभावकारी ढंगले अगाडी बढाउने निर्णय गरेसंगै वडा समितिले जिल्लाको निर्णय कार्यान्वयन गर्ने गरी गतिविधि अगाडी बढाएका छन् ।
जिल्लाको परिपत्र अनुसार नेपाली काँग्रेस वडा समिति तिलोत्तमा–३ ले वडा अन्तर्गतका गठित १२ वटा टोल समितिलाई पार्टीको सिद्धान्त र विधान भित्र रहेर वडा अधिबेशन गर्न सबै टोल समितिलाई परिपत्र गरिसकेको छ । वडा समितिको हिजो बसेको बैठकले गरेको निर्णय र परिपत्र अनुसार तिलोत्तमा–३, अन्तर्गत आज नेपाली काँग्रेस गौतम बुद्ध टोल समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट केशरमणि गौतम सभापति रहेको १३ सदस्यीय टोल समिति र ३ सदस्यीय सल्लाहाकार समिति सर्वसम्मत चयन गरेको छ । समितिको उप सभापतिमा एव कुमारी कार्की, सचिवमा अनिता पाण्डे खनाल, कोषाध्यक्षमा कर्ण विक्रम शाही र सह सचिवमा रेवती कार्की रहनु भएको छ । यस्तै टोल समितिको सदस्यहरुमा श्याम मल्ल, धनकला पोख्रेल, जानकी खनाल, गोबिन्द प्रसाद खनाल, कमला थापा, सन्तोषी थापा, बिमला जिसी र पार्वता घिमिरे रहनु भएको छ ।
अधिबेशनबाट निर्वाचित कार्य समितिलाई पार्टीका नेताहरुले बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । टोल समितिका सभापति राजु पौडेलको सभापतित्व, उप सभापति केशरमणि गौतमको स्वागत र सचिव अनिता पाण्डे खनालको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका नेताहरुले टोल समिति पार्टीको मेरुदण्ड भएकाले टोल समितिका पदाधिकारी तथा सदस्यहरुले पार्टीको संगठनलाई शसक्त र चलायमान बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका महाधिबेशन प्रतिनिधि चित्र केसी, जिल्ला सदस्य एल जी गुप्ता शाह, निवर्तमान जिल्ला सदस्य हरि प्रसाद तिवारी, निवर्तमान क्षेत्रिय सदस्य ढालबहादुर कार्की, तिलोत्तमा नगर उपसभापति कल्याण पौडेल, वडा सभापति केशरी पाण्डे, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीलगायतले बोल्दै आगामी निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने गरी सांगठनिक गतिविधि गर्न टोल समिलिाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस गौतम बुद्ध टोल समितिमा हाल १८० घर रहेका छन् भने काँग्रेस टोल समितिको पहलमा टोलका सबै सडकमा सडक बत्ती बाल्ने काम भएको छ । कार्यक्रममा तिलोत्तमा ३ का सभापति केशरी पाण्डेले वडा समितिको निर्णय अनुसार पागुन १४ गते शिव पञ्चाङ्ग टोल समिति, १५ गते सुनौलो नगर र रम्भा देवी र सिमानगर, १६ गते शुभ बिहानी टोल समिति तथा १७ गते उपकार र उज्यालो टोल समितिको अधिबेशनका लागि मिति तय गरी परिपत्र गरिएको जानकारी गराउनु भयो । यस्तै जागृति, जानकी नगर, पशुपति र कैलाश टोल समितिको अधिबेशन पनि समय अनुकुल हुनेगरी सम्पन्न गर्न सम्वन्धित टोल समितिलाई आग्रह सहित परिपत्र गरिएको वडा सचिव दिनेश सुवेदीले बताउनु भयो ।