भैरहवा, ७ फागुन । रुपन्देही प्रहरीले बालबालिकालाई अपहरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रूपन्देही सैनामैना नगरपालिका–५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई पक्राउ गरेको हो ।
झापा अनारमनी विर्तामोडबाट पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले पौडेललाई पक्राउ गर्नुका साथै अपहरणमा परेका बालबालिकालाई सकुशल उद्धार गरिएको जनाएको छ ।
सैनामैना–६ दुधराक्षका १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रशन्न दाहाललाई स्कूल बसवाट अपहरण गरेको आरोप लागेका पौडेललाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज केसीले बताउनु भयो ।
घरबाट सैनामैना–४ बुद्धनगर स्थित प्रभात बोर्डिङ स्कुल गएका दुई दाजु बहिनी यही फागुन ५ गतेदेखि हराइरहेका थिए । प्रहरी उपरीक्षक केसीका अनुसार लु १ ख ६५६८ नम्बरको बसमा चढेर स्कूल गएका उनीहरू साँझ घर नफर्केपछि उनीहरुका अभिभावक स्कुलमा पुगेका थिए । विद्यालय गएका छोराछोरी नआएपछि आमा पुष्पा दाहालले रुपन्देही प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा प्रहरीले बालबालिकाको खोजतलासका सुरु गरेको थियो । प्रहरीले देशभर अलर्ट गरेपछि उनीहरू दुवै जना शुक्रबार दिउँसो झापाको विर्तामोडमा फेला परेका हुन् ।
दुवैलाई सकुशल उद्धार गरेपछि अपहरण भएको पुष्टि भएको प्रहरी उपरीक्षक केसीले बताउनु भयो । उहांका अनुसार प्रसिद्ध र प्रसन्नसँगै स्कूल बसमा चढेर गएको देखेका नाताले फुपाजु पर्ने पौडेलले गाडी रोकिएपछि ‘फोटो खिच्नु छ’ भन्दै ललाई फकाई गरी झापा पु¥याएको पाइएकोे छ ।
पुष्पा दाहालले आफनो छोराछोरीलाई आफन्तले अपहरण गरेको बताउँदै आउनुभएको थियो । सैनामैना वडा न.५ घमाहा खोला बस्ने पौडेलले पारिवारिक रिसइबीका कारण अपरहण गरेको आशंकासहित प्रहरीमा जोहरी दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय रन्यौरामा घटनाबारे अभिभावकले जानकारी दिएपछि प्रहरी परिचालन भएको थियो । केसीका अनुसार पौडेलले प्रयोग गर्दै आएको मोबाइल नम्बर फागुन ५ गते ३ः४० बजे बाट स्वीचअफ भएको देखिएको थियो । उपरीक्षक केसीका अनुसार त्यसदिन बालबालिकालाई लिएर पौडेल बुटवलबाट विर्तामोड छुट्ने बस काउन्टरमा टिकट काटेर उनी विर्तामोड पुगेका थिए । त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी झापाले बुटवलबाट आउने गाडीको निगरानी गरेको थियो । निगरानी गर्ने क्रममा पौडेललाई बालबालिकासहित प्रहरीले झापा बसपार्कमा फेला पारेको थियो ।
प्रहरी उपरीक्षक केसीका अनुसार बालबालिकाका फुपाजू पर्ने पौडेलको पारिवारिक दुश्मनी थियो । यो घटना हुनुभन्दा केही दिनअघि प्रहरीले पौडेललाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो ।
‘प्रहरीबाट छुटेपछि श्रीमतीले माइती पक्षसँग मिलेर आफूलाई थुनाएको भन्दै पौडेलले बदला लिने योजनाका साथ बालबालिकाको अपहरण गरेको खुल्न आएको छ,उपरीक्षक केसीले भन्नुभयो—पौडेल विगत २० वर्षदेखि भारत बस्दै आएका र बालबालिकालाई पनि भारत पु¥याउन खोजेको मनसाय देखिन्छ ।’