बुटवल, ७ फागुन । नेपाली काँग्रेसका नेताहरुले पार्टीका नेता कार्यकर्ता पार्टीको विधान र विधि अनुसार नचलेका कारण कांग्रेस कमजोर भएको बताएका छन् । पार्टीको विभिन्न पद र जिम्मेवारीमा रहेकाहरुले पार्टीको विधान र विधि भित्र रहेर आफ्नो तह अनुसारको पदिय जिम्मेवारी पुरा गर्ने हो भने कांग्रेस कमजोर नहुने उनीहरुले औल्याएका छन् ।
७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बी पी कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले शनिवार (आज) आयोजना गरेको शुभकामना तथा भेटघाट कार्यक्रममा बोल्ने पार्टीका नेताहरुले आफु मात्र ठिक र अरुलाई वेठिक देख्ने प्रबृत्तिका कारण प्रजातन्त्र कमजोर भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरले पार्टी नेतृत्वलाई दोषारोपण गरेर उन्मुक्ति पाउने अवस्था नरहेको भन्दै सबैले आआफ्नो दायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभयो । उहांले कांग्रेसलाई खतरा कांग्रेस बाटै रहेको उल्लेख गर्दै पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा लाग्ने ब्यक्ति कांग्रेस हुन नसक्ने बताउनु भयो । चुनावमा टिकटका लागि प्रतिष्प्रधा हुनु स्वभाविक भएपनि टिकट पाई सकेपछि सबैले आधिकारिक उम्मेदवारलाई सहयोग गरेमा मात्र कांग्रेस वलियो हुने उहांले बताउनु भयो ।
सधैभरी सर्वहारा, मजदुर र गरिवीको नारा लगाउने कम्युनिष्टहरुले मुलुकको उन्नती प्रगति चाहदैनन् भन्दै सभापति पुनले मुलुकको उन्नती प्रगति र लोकतन्त्रलाई बचाउन नेपाली कांग्रेसले जित्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले १४ औं महाधिबेशन पछि पार्टी रुपान्तरण भएको भन्दै आन्तरिक चुनावका तिक्ततालाई विर्सेर सवै एक ढिक्का भएर कांग्रेसलाई वलियो बनाउनुपर्ने वताउनु भयो । सही विचार र सिद्धान्तले मानिसको आचरण बदल्नुपर्नेमा जोड दिदै सभापति खांणले कम्युनिष्टहरुले जोर जवरजस्ती मानिस बदल्ने धृष्टता गरेकै कारण युवाहरु विदेश पलायन हुनुपरेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य बालकुमारी भण्डारी, क्षेत्र नम्वर २ का सचिव प्रजापाल गिरी, बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डे, प्रतिष्ठानका सहसचिव दिनानाथ गिरीलगायतले बोल्दै १०४ बर्षे जहानिया राणा शासनको अन्त्य गर्ने नेपाली कांग्रेस लाई पुरानै अवस्थामा फर्काउन सबै एकजुट हुनुपर्ने बताउनु भयो । कम्युनिष्टहरुले एमसीसीका बारेमा सत्तामा रहंदा एउटा र सत्ता बाहिर रहंदा अर्को कुरा गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै एमसीसी पारित भए नेपालको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने वताउनु भयो ।
पी कोईराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीका अध्यक्ष युवराज गिरीको अध्यक्षता र सचिव खिमानन्द भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।