बुटवल, ७ फागुन । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा साहित्यकार सपना आचार्यद्वारा लिखित मलिलो माटो उपन्यासको लोकार्पण भएको छ । उपन्यासको लोकार्पण नेपाली फिल्म जगत्का महानायक राजेश हमाल र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले संयुक्त रूपमा गर्नुभएको हो ।
नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग सादृश्य गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन् तर नारी र प्रकृतिको उपभोग मात्रै गरिएको र त्यसको भित्री मर्म, वेदना एवम् समस्याको समाधान नभएको बरु नारी परिस्थितिको दास बन्न बाध्य भएको कुरालाई कृतिमा प्रस्तुत गरिएको छ ।
कृतिमाथि टिप्पणी गर्दै अधिकारकर्मी मीनाक्षी न्यौपाने र इन्दिरा आचार्यले कृतिले नारी र प्रकृतिका विशेषता, विवशता अनि जीवनावस्थालाई उल्लेख गरेको बताउनुभयो । त्यसैगरी डा. रवीन्द्र समीरले मलिलो माटो उपन्यास सर्जकको पहिलो कृति भए पनि यसभित्रको लेखन स्तरीय र पठनीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा तिलोत्तममा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले मलिलो माटो उपन्यासले समाजमा महिलाको अवस्थालाई प्रस्तुत गरेको बताउँदै निरन्तरको मिहिनेत र अध्ययनशीलताले लेखकलाई सफल बनाउने बताउनुभयो ।
त्यसैगरी महानायक राजेश हमालले कृतिले प्रकृति र नारीको भूमिकासहित नारी र प्रकृतिले भोग्नुपरेका परिस्थितिजन्य अन्योलता र विवशतालाई प्रस्तुत गरेको बताउँदै कृति सफलताको शुभकामना दिनुभयो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रम इन्दिरा अर्यालले सञ्चालन गर्नुभएको थियो ।