काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको हो । महाअभियोग प्रस्तावलाई एमालेले गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भनेको छ । एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।
पार्टीका महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको बताउंदै यो काम अनुचित र लोकतन्त्रका लागि खतरा देखिएको उल्लेख गर्नुभयो ।
सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको आपतकालिन सचिवालय बैठक बसेको थियो ।