काठमाडौं, १ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकिृत समाजवादी)लगायत ९८ जना सांसदहरूले हस्ताक्षर गरेर संसद् सचिवालयमा प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाइएको छ । यस्तै न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागेको, सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्र नै उनको कार्यकालमा अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको महाअभियोग प्रस्तावमा उल्लेख छ ।
नेपाली कांग्रेसका सचेतक पुष्प भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव प्रसाद गुरुङ र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक तथा कांग्रेसका मिनेन्द्र रिजाल समर्थक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।
