बुटवल, १ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध नेकपा (एकीकृत समाजवादी) पार्टी रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । पार्टीको आह्वानमा सो पार्टीका भातृसंगठनहरुले एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) र पार्टीका भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै आईतबार बुटवलको ट्राफिकचोकमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागि पार्टीका नेता कार्यकर्ताहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसि सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताउनुभयो । उहांले सम्झौता लागू गराउन अमेरीकाले नेताहरुलाई धम्कीदिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको उल्लेख गर्नुभयो । आफुहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा होमिएकाले शिर्ष नेतालाई घुँडा नटेक्न उहांले चेतावनी दिनुभयो ।
बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शनमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थापाले एमसीसी परियोजनाबारे राजनैतिक र नागरिक तहमा थुप्रै प्रश्नहरु उठेकाले त्यसबारे सहमति नगरिकन संसदनमा लैजानै नहुने बताउनु भयो ।
प्रदर्शनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, केन्द्रीय सदस्य उमा काफ्ले, प्रदेश कमिटि सदस्य हिराध्वज शाह लगायतका नेताहरुको सहभागिता रहेको थियो ।