बुटवल, १४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बदली हुँदा देशभर चिसो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ । उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई–मधेसका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ ।
बुधबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
बिहीबार भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तो अवस्था बिहीबारबाट क्रमशः कम हुँदै जाने अनुमान मौसमविदले गरेका छन् । मौसमविदका अनुसार आजको जस्तै अवस्था भोलि पनि रहने छ ।