बुटवल, १६ पुस । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ।
नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष नेपाली काँग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ विसं २०३३ पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाई, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनुभएको थियो ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायत नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४५ वर्षअघि स्वदेश फर्केका थिए । बीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।
दिवसका अवसरमा आज नेपाली काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवा स्थित पार्टी कार्यालयमा एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा अन्तरक्रिया तथा शुभकामना आदान कार्यक्रम राखेको छ ।
