बुटवल, ३ पुस । रोटरी क्लव अफ बुटवलको १३९३ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा शिक्षा क्षेत्रको क्लासिफिकेशन रहेको थियो ।
बैठकमा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. तारानाथ भट्टराईले मुलुकको शिक्षालाई स्थानीय स्रोत साधनसँग नजोडेसम्म परिवर्तन नहुने बताउनु भयो । व्यवहारिक शिक्षा नै आजको आवश्यकता भएकोमा जोड दिंदै उहांले स्थानीय सरकार, संघ र प्रदेश सरकारले सम्बन्धित क्षेत्रको परिवेश सुहाउँदो पाठ्यक्रम लागू गर्नुपर्ने र यसको व्यावहारिक अभ्यासका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बताउनु भयो ।
सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धी जनशक्ति उत्पादन हुन नसक्ने भन्दै उहांले यसतर्फ सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा रोटरीयनहरु कृष्णप्रसाद अर्याल, रोम शर्मा, शिवप्रसाद ज्ञवाली, थानेश्वर पौडेल, गणेशप्रसाद ज्ञवाली लगायतले शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न जिज्ञासा राख्नुभएको थियो । बैठकमा क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराउनुभएको थियो ।
बैठकमा रोटरीयनहरु सुनिल श्रेष्ठ, नारायण भण्डारीलगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
