तिलोत्तमा, १ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ८० औं श्रृंखलामा पुगेको छ । ८० औं श्रृंखला अन्तर्गत् बिहीबार वडा नं. ३ को सीमानगरमा नगरस्तरीय सरसफाई गरिएको छ । कोभिड—१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् ।
जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बिहीबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् ।
तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।
सरसफाई अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमाले भौतिक विकाससँगै मानवीय विकासलाई पनि उत्तिकैं महत्व दिएको बताउँदै नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउनुभयो । उहाँले सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पार्नुभयो । सो अवसरमा कार्यवाहक वडाध्यक्ष तेजबहादुर गुरुङलगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।