तिलोत्तमा, २३ मंसिर । तिलोत्तमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्डको उपाधी कुवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदिपनगर रुपन्देहीले चुमेको छ । गतवर्ष समेत रनिङसिल्ड जित्न सफल भएको कुवरवर्र्तीले ९ स्वर्ण सहित यस वर्षको राष्ट्रपति रनिङसिल्ड जितेको हो । विहिवार भएको फाइनल खेलमा शान्ति नमूना मावि मणिग्राम भने ८ स्वर्ण सहित दोस्रो हुन सफल भएको छ । त्यस्तै सेन्टजोसेफ मावि. ४ स्वर्ण सहित तृतीय भएको छ ।
यसैविच विहिवार प्रतियोगिताको समापन समेत गरिएको छ । नगरखेलकुद विकास समिति अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देबी चौधरीले खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको बताउनुभयो । उहांले खेलको विकासका लागि नगरपालिकाले योजनावद्ध तरिकाले काम गरिरहेको स्मरण गर्दै तिलोत्तमा नगरलाई खेलकुदको हव बनाउनु पर्नेमा जोड दिनुभयो ।
समितिका सदस्य दिपक खनालको संचालनमा भएको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष दिवाकर ढकाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यलगाएतले बोल्दै खेलको विकासका लागि नगरपालिकाले समन्वयकारी भूमिकामा काम गरिरहेको बताउनुभएको थियो ।
मंगलवार देखि सुरु भएको खेल अन्तरगत बुधवार एथ्लेटिक्स तर्फका खेलहरु सपन्न भएका थिए भने विहिवार फाइनल खेलहरु भएका थिए । तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय प्रतियोगितामा सहभागीे छन् । खेल अवधिको विचविचमा विभिन्न विद्यालयहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । सर्वेत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट हुने छन् । खेल संचालनका लागि झण्डै ११ लाख खर्चको अनुमान गरिएको छ ।