बुटवल, २० मंसिर । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी हुनुभएको छ । संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पौडेल कोईराला समूहका पुन सभापतिमा विजयी हुनुभएको हो । सभापतिमा विजयी पुनले आफ्ना प्रतिष्प्रधि शाहलाई ८५ मतको अन्तरले पराजित गर्नुभएको हो । पुनले ८५२ मत प्राप्त गर्नुभएको छ भने शाहले ७६७ मत प्राप्त गर्नुभएको छ ।
अन्य पदाधिकारीमा पनि पुन पक्षकै उम्मेदवारहरु निर्वाचित भएका छन् । उपसभापतिमा पुन समूहका गुल्मीका भुवन प्रसाद श्रेष्ठ र देउवा समूहका देउवा समूहका दाङका राजु खनाल निर्वाचित हुनुभएको छ । श्रेष्ठले ८४७ र खनालले ७९२ मत प्राप्त गरी विजयी हुनुभयो । उपसभापतिका उम्मेदवार पुन समूहका रुपन्देहीका अष्ठभूजा पाठक ७७२ र देउवा समूहका कपिलवस्तुका सुधाकर पाण्डेयले ६६१ मत ल्याएर पराजित हुनुभएको छ ।
महामन्त्री र सहमहामन्त्रीमा भने पुन समूहका उम्मेदवारहरु निर्वाचित भएका छन् । महामन्त्रीमा विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यस्तै सहमहामन्त्री पदमा पनि पुन समूहकै निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डे ७७६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
शाह समूहबाट महामन्त्री र सहमहामन्त्रीका उम्मेदवारहरु पराजित भएका छन् । महामन्त्रीका उम्मेदवार खिमान सिंह रायमाझीले ६५१ र जन्मजय तिमिल्सिनाले ७०९ तथा सहमहामन्त्रीमा सरिता चौधरी ६८७, माया पुन ७५२ र लक्ष्मी नारायण शाह ६७६ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
सभापतिमा निर्वाचित पुनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु दीपक गिरी, डा.चन्द्र भण्डारी र नेता संजय गौतमलगायतका नेताहरुको साथ र समर्थन रहेको थियो ।
देउवा समूहबाट सभापतिमा शसक्त र प्रभावशाली उम्मेदवार रुपन्देहीका भरत शाहलाई काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कडेँल लगायतको साथ र समर्थन रहेको थियो । सभापतिमा पराजित शाह प्रतिनिधिसभामा रुपन्देही क्षेत्र नं. ५ बाट लगातार ३ पटक निर्वाचित सांसद तथा हाल प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको लुम्बिनी प्रदेश अधिवेशनमा कुल १ हजार ६७० मतदाता रहेकामा १ हजार ६३१ मत खसेको थियो । प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना सुरू भएको थियो । निर्वाचनको अन्तिम परिणाम घोषणा निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले आज विहान पार्टी कार्यालय भैरहवामा गर्नुभएको थियो । सो कार्यक्रममा नवनिर्वाचित सभापति पुनले मतदान गर्ने मतदाता र निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा सबैले समेटेर कसैका प्रति आग्रह पूर्र्वाग्रह नराखी अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भएको छ ।
पदाधिकारीले प्राप्त गरेको मत परिणाम :
