बुटवल, २१ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्यायालयमा राजनीतिक भागबण्डा भएका कारणे देशको न्याय क्षेत्रमा बेथिति भएको बताउनुभएको छ । एमाले, कांगे्रस, माओवादी र मधेसवादीले न्यायालयमा भागवण्डा गरेको अध्यक्ष केसीको आरोप छ ।
राष्ट्रिय जनमोर्चा सैनामैना नगरपालिका रुपन्देहीको मंगलबार सम्पन्न भेलामा बोल्दै अध्यक्ष केसीले न्यायालयमा राजनीतिक भागवण्डा गर्ननहुने बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले न्याय सेवा वा लोकसेवाको प्रकृया पुरा गरेर मात्र न्यायालयमा न्यायधीश नियुक्ति गर्नुपर्ने बताउनुभयो ।
अहिलेका प्रधानन्यायाधीशलाई न्यायधीशमा ल्यांउदा नै गलत भएको उल्लेख गर्दै उहांले राष्ट्रिय जनमोर्चाले संसदमा त्यसको बिरोध गरेको स्मरण गर्नुभयो । उहांले देश राम्रोसंग चल्न नसकेको बताउंदै देशको शासनसत्ता चलाउनेहरुको नियत खराब हुंदा देश र जनताले समस्या भोग्नुपरेको बताउनुभयो ।
छिटोछिटो सरकार गिर्दा देशलाई नोक्सान भएको बताउंदै उहांले झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद विघटनको बाटो समाउंदा देश संकटमा फसेको दावी गर्नुभयो । उहांले कांगे्रस राम्रो र ठिक भएका कारण जनमोर्चाले गठबन्धन नगरेको बताउंदै संसद विघटन गर्ने ओलीको प्रतिगमनका कारण अहिलेको गठबन्धन बनेको बताउनुभयो ।
एमसीसी परियोजना र संघीयता नेपाल र नेपालीको हित बिपरित भएकाले खारेज गर्नुको अर्को कुनै विकल्प नभएको अध्यक्ष केसीको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, अखिल नेपाल टे«य युनियन महासंघका अध्यक्ष लोकराज भुसाल, दलबहादुर मल्ल, साहित्यकार शारदा पाण्डे लगायतले बोल्दै राष्ट्रिय, जनतन्त्र र जनजीविकाका मुद्वाहरु कमजोर भएकाले जनतालाई राजनीतिक रुपमा सचेत बनाउनु पर्नेमा जोड दिनुभयो ।
लालबहादुर खत्रीको अध्यक्षता, गणेश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।