१६ सय ७० मतदातामा १६ सय ३१ जनाले गरे मतदान
भैरहवा, १८ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बिहान सवा १० बजेदेखि शुरु भएको मतदान सांझ साढे ५ वजे सम्म भएको थियो ।
लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेपछि मतदान प्रक्रिया शुरु भएको थियो । कुल १ हजार ६ सय ७० मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ सय ३१ मत खसेको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिनुभयो । रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा भएको निर्वाचनमा ३९ जना मतदाता मतदान प्रक्रियामा सहभागि नभएका निर्वाचन समितिका संयोजक थापाले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा संस्थापन समूहबाट भरत शाह र संस्थापन इतर समूहबाट अमर सिंह पुनले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका थिए । संस्थापन पक्षबाट लुम्बिनी प्रदेश सभापति उम्मेदवार बन्नुभएका शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुनुहुन्छ भने संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्नुभएका पुन रोल्पाका निवर्तमान जिल्ला सभापति हुनुहुन्छ ।
