बुटवल, २९ कात्तिक । पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिले ढुवानी यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै ब्यवसायीहरुले तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सोमवार सम्युक्त रुपमा विज्ञप्ति जारी गरी मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जित बहादुर भाटद्वारा सम्युक्त रुपमा जारी विज्ञप्तिमा मूल्य वृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेकोले मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेपाल आयल निगम संग जोडदार माग गरिएको छ ।
विसं २०७८ बैशाख ५ गते डिजलको मूल्य १०४ रुपैयां हुदां तय भएको ढुवानीका सवारी साधनको भाडा हाल ११९ रुपैयां हुदा पनि साविकको भाडामा ढुवानी गर्नुपर्दा व्यवसायी समस्यामा परेको उल्लेख छ । नेपाल सरकार यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयां हेरफेर हुदा सोही अनुरुप भाडां समायोजन गर्नुपर्ने व्यवस्था हुदा पनि त्यो नहुनु दुःखद पक्ष रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैले ११९ रुपैयां डिजलको मूल्य हुदा पनि साविकको भांडामा ढुवानी गर्नु पर्दा व्यवसायी धरासाही हुने भएकाले मूल्यवृद्धि फिर्ता नभए ढुवानीका सवारीका साधन ग्यारेजमा थन्काएर राख्ने बाध्यता सृजना हुने चेतावनी विज्ञप्तिमा दिईएको छ । यस्तै अवस्था कायम रहे यो विषम परिस्थितिमा ब्यवसायीले ढुवानीका सवारी साधन संचालन गर्न नसक्ने उल्लेख छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भाडां समायोजन नहुदाको कारण उत्पन्न हुने परिस्थितिको यातायात व्यवसायीका संघ संस्थाहरु जवाफदेही नहुने स्पष्ट पारिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै मागको सुनुवाई नभए उत्पन्न हुने परिस्थिति र नेपाल सरकारलाई आन्तरिक आपूर्ति व्यवस्थामा पर्न जाने समस्याको जिम्मेवारी स्वयम सरकार र नेपाल आयल निगम हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
