पाल्पा, २४ कात्तिक । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड रातको समयमा बन्द गरिएको छ । डिभिजन सडक कार्यालय पाल्पाका अनुसार कात्तिक २२ देखि आगामी मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने छ ।
डिभिजन सडक कार्यालय पाल्पाले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा कात्तिक २२ देखि मंसिर ६ गते सम्म १५ दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सुरक्षा र एम्बुलेनस बाहेकका सवारी साधन बन्द हुने उल्लेख छ ।
बाटो चौडा गर्ने कार्यको ठेक्का लगाइएकोमा दिउसोको समयमा काम गर्दा सवारी आवागमनमा असुविधा हुन जाने कारणले निर्माण ब्यवसायीले रातीको समयमा सवारी आवागमन बन्द गरी काम गर्न पाउँ भनी निवेदन दिएकाले सोही अनुसारको सुरक्षा समन्यय गरिदिन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पाल्पालाई सडक कार्यालयले अनुरोध गरेको छ । रातको समय बाहेक अन्य समयमा भने उक्त सडकमा सवारी साधन यथावत संचालनमा आउने छन् ।
डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सडक निर्माणको ठेक्का भगवती \महेश\ सत्यवती जे भी कन्ट्रक्सनले लिएको छ ।
