बुटवल, १८ कात्तिक । रुपन्देहीको बुटवलमा गौ संरक्षण केन्द्र तथा अनुसन्धान स्थल स्थापना भएको छ । बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा स्थापना गरिएको नन्दिनी गौ संरक्षण केन्द्र (गौशाला) को बिहीबार लक्ष्मीपुजा अर्थात गोबर्धन पुजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ ।
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर नन्दिनी गौ संरक्षण केन्द्रको उदेघाटन गरिएको हो । गौ संरक्षण केन्द्रको मुक्तिनाथ धामका पिठाधिस ब्रह्मनन्द लोकानन्द स्वामी र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी ले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । पाँच वटा गाईलाई पंन्च कन्याद्घारा प्रवेश गराएर केन्द्रको शुभारम्भ गरिएको थियो ।
केन्द्रका लागि करीब ६ विगाहा क्षेत्रफलमा तारजाली गरिएको छ । जहाँ ५० बढि गाई अट्ने सेड पुर्वाधार निर्माण गरिएको छ । यसैगरि गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने ब्यवस्था, विद्युत ब्यवस्थापन गरिएको छ । दुई जना गौ हेरालुहरु ब्यवस्थापन गरी गौ हेरालुहरुलाई २ वटा रुम र स्टोर रुम निर्माण गरिएको छ । यसैगरि मध्येभागमा १ हजार ८ बरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्धन पर्वत बनाउने योजना छ ।
शिवनगर सामुदायिक वन क्षेत्रमा गौशाला ब्यवस्थापन समिति गठन गरेर चलाउने योजना रहेको बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले जानकारी गराउनु भयो ।