बुटवल, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र सम्शेर जवराले पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताउनु भएको छ । प्रधानन्यायधीश जवरा कार्यपालिकामा भाग खोज्ने व्यक्ति भएको उल्लेख गदैै नेता कोइरालाले त्यस्ता व्यक्ति बिरुद्ध राजीनामा माग हुनु स्वभाविक भएको बताउनु भयो ।
नेपाली काँग्रेस गुल्मी रुपन्देही सम्पर्क समितिले बुधबार बुटवलमा आयोजना गरेको सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.कोइरालाले प्रधानन्यायाधीश जवरालाइ कार्यपालिकामा भागबण्डा गर्न दिने पक्ष र भागबण्डामा सामेल हुने दुबै पक्ष उत्तिकै दोषी भएको बताउनु भयो ।
‘जवरा कार्यपालिकामा भागबण्डा खोज्ने व्यक्ति हुन् । यसमा भाग लिने पक्ष मात्रै होइन भाग दिने पक्ष पनि उत्तिकै दोषी छ । नेपाली काँग्रेसले यसमा बोल्नु पर्दैन, के हामी काँग्रेस भएकै कारण चुप लागेर बसेका हौ’ नेता कोइरालाले भन्नुभयो ।
नेता कोइरालाले आम नेता कार्यकर्ताको चाहाना अनुरुप नेपाली काँग्रेसले आगामी निर्वाचन एक्लै लडनु पर्ने धारणा पनि राख्नुभयो । महाधिवेशन प्रभावित पारेर पार्टी सभापति शेरबहादुर देउवाले पार्टी महाधिबेशनमा आफ्नो अनुकुलको वातावरण निर्माण गर्न कर्मचारी र सुरक्षा संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाउनु भयो ।
नेता कोईरालाले स्थानीय निर्वाचनमा टिकट पाउनेलाई टिकट नपाउनेले हराउन खोज्नुनै नेपाली काँग्रेसका लागि सबैभन्दा ठुलो दुर्भाग्य भएको बताउनु भयो । नेपाली काँग्रेसलाई हराउने तागत कसैसंग छैन भन्दै नेता कोइरालाले नेपाली काँग्रेसलाई कसैले हराउन सक्छ भने काँग्रेसले मात्र हराउंछ भन्नुभयो ।
‘नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो र लोकतान्त्रिक अभ्यासमा हामीहरु अभ्यस्त हुंदैछौ । तर पछिल्लो समयमा पार्टीमा अलोकतान्त्रिक प्रबृत्ति हावी भैरहेको छ । अलोकतान्त्रिक प्रबृत्तिलाई चिरेर अगाडी बढ्न सकेमा मात्र पार्टीलाई लोकतान्त्रिक बनाउन सकिन्छ ।’ नेता कोईरालाले भन्नुभयो ।
नेता डा.कोइरालाले पार्टी नेतृत्वको ध्यान पार्टीलाई लोकतान्त्रिक बनाउने तर्फ नपुगेको भन्दै विधान बनाए पनि पार्टीको बिधानलाई टेकेर पार्टी अगाडी नबढेको टिप्पणि गर्नुभयो । नेपाली काँग्रेस कताकता अलमलिएको जस्तो लाग्छ भन्दै नेता कोईरालाले पार्टी भित्र गुट उपगुट हुनु स्वभाविक भएपनि पार्टी भित्र सत्ता गठबन्धनको स्वार्थमा भैरहेको गुट उपगुटले पार्टीलाई हित नगर्ने बताउनु भयो । उहांले देशभरीका पार्टीका कार्यकर्तालाई हतोत्साहित बनाएर पार्टी चलाउन नसकिने समेत बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु रेवतीप्रसाद भुसाल, कपिलबस्तु सभापति सुरेन्द्रराज आचार्य, रोल्पाका सभापति अमर पुन, गुल्मीका सभापति भुवन श्रेष्ठ राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष डा.गोबिन्द पोखरेल, नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति राजेन्द्र पन्तलगायतले बोल्दै पार्टीलाइ चलायमान बनाउन सक्ने सशक्त नेतृत्व अवको आवश्यकता भएको भनाइ राख्नुभयो ।
नेपाली काँग्रेस गुल्मी सम्पर्क समितिका सभापति अधिवक्ता घनश्याम पन्तको अध्यक्षता र सचिव छायाँ पोखरेलको संचालनमा भएको कार्यक्रममा महासमिति सदस्य महेन्द्र भण्डारी, पार्टीका गुल्मी सचिव खिलध्वज पन्थी, रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सपभापति खेलराज पाण्डे, डिएलएका केन्द्रिय उपाध्यक्ष गोकर्णसिंह थापा, संस्थाका सल्लाहकार हरिबहादुर आचार्य, समितिका सदस्य सावित्रा टण्डनलगायतले बोल्दै पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै अवको निर्वाचनमा नेपाली काँग्रेस एकल रुपमा जानुपर्ने धारणा राख्नुभएको थियो ।
