भैरहवा, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयले अबैध चोरी निकासी नियन्त्रणका विशेष अभियान संचालन गरेका छन् । प्रहरीले बिशेष अभियान संचालन गरेपनि भारतबाट अबैध रुपमा हुने चोरी निकासीमा भने कमी आउन सकेको छैन । दिनहुं जसो लाखौं मुल्य बराबरका अबैध सामान बरामद हुनुले पनि भारतबाट हुने अबैध चोरी निकासीमा कमी आउन नसकेको पुष्टि हुन्छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट विभिन्न मिति(कात्तिक १४,१५,१६ र १७)मा जिल्लाका विभिन्न ठाउंबाट पिकअप गाडी र दुई जना मानिस सहित लाखौं मुल्य बराबरका अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१ तिनाउ पुलमा भारतबाट अबैध रुपमा लु १ ज ४६३६ र लु १ ज ३७८७ नं.को पिकअप गाडीमा ल्याउँदै गरेको लिपगार्ड १५ बन्डल, उनी कुर्था सुरवाल सेट २३६, चुन्नी ६०० पिस र बनारसी साडी– ६७ पिस र पिकअप गाडीसहित रु.५१ लाख ४८ हजार ५००।– बराबरको अबैध सामान र बिभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ । प्रहरीले गाडी चालक सैनामैना नगरपालिका वडा नं.२ बस्ने बर्ष ४० को तुलसी थारु र सोही ठाउं बस्ने बर्ष ४० को मिन प्रसाद भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ ।
यस्तै जिल्लाको मायदेवी गाउँपालिका ७ बनगाईमा भारतबाट अबैध रुपमा ल्याउदै गरेको रु.१४ हजार बराबरको चिनी प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका १५ मधवलिया चोकमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको रु. १ लाख १९ हजार ७५० बराबरको सर्ट कपडा २४ रोल तथा तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रु. ४ लाख १५ हजार २०० बराबरको २५१ जोर स्पोर्ट जुत्ता र ७६ जोर छाला जुत्ता बरामद गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मायादेबी गाउँपालिका ८ बिश्वकर्मा मन्दिरमा भारतबाट अबैधरुपमा भन्सार छली, ल्याएको रु. ४ लाख ४८ हजार ५०० मुल्य बराबरको चिनी ५० के.जि., लेडिजकुर्ता ४७ पिस, पावर स्टेरिङ पम्प ३१ पिस , पावर स्टेरिङ किट १९ पिस र भिम बल्ब ९० पिस बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मझगावा मातहत प्रहरी चौकी ठर्कीबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाउँपालिका वडा नं. ६ ठर्कामा लु.१ज.२९९९ नं.को पिकअपमा भारतवाट नेपाल तर्फ भन्सार छली पैठारी गरी ल्याउदै गरेको रु.४ लाख बराबरको २३ बोरा फुलको माला बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी शुक्रौलीआमाबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका १२ सुक्रौलिआमामा भारतबाट भन्सार छली ल्याउदै गरेको बच्चाको टिसर्ट सेट–२७ जोर, बच्चाको हुट सेट–२१ जोर, सेण्डो–४० पिस, लेडिज मोजा–४८ जोर, बच्चाको मोजा–७२ जोर, मेडियम मोजा–१२ जोर, बच्चाको उलन टोपी–२४ पिस, ठूलो उलनको टोपी–१२ पिस र लेडिज सुइटर–१० पिस गरि रु.६० हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहमा भारत बाट भन्सार छली ल्याउदै गरेको टोपी ९६ थान, लेडिज पर्स ७ थान, नेल पोलिस २४ पिस र झिलझिले लाइट ५० थान सहित रु. २० हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय मझगावाले मायादेवि गाउँपालिका –६ शिवपुरमा भारतबाट अबैध रुपमा ल्याउदै गरेको १० वटा ब्रोइलर कुखुरा, ३५ के.जि.सोनपापडी मिठाई, १ बोरा खेलौना र ४० के.जि.गुण (भेलि)गरी रु १३ हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मझगावा मातहत प्रहरी चौकी दुर्गौलियाबाट खटिएको प्रहरी टोलीले मायादेवि गाउँपालिका–६ भन्सारचोकमा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको २ बोरा चिनी, १ बोरा ललिपप र १ कार्टुन भेलि गरी रु १२ हजार बराबरको अबैध सामान बरामद गरेको छ ।
बिभिन्न मितिमा जिल्लाका बिभिन्न ठाउँबाट बरामद गरिएको रु. ६६ लाख ५० हजार ९ सय ५० रुपैयां बराबरको अबैध सामान आवश्यक कारवाहीका लागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।