तिलोत्तमा, १३ कात्तिक । रुपन्देहीको तिलोत्तमामा चारवटा सहकारी संस्थाहरु एकीकरण (मर्ज)े भएका छन् । चारैवटा सहकारी संस्थाले शनिबार संयुक्त भेला गर्दै एकीकृत भएको घोषणा गरेका हुन् ।
सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मणिप्रभा बचत तथा ऋण सहकारी संस्था, सूर्यकिरण बचत तथा ऋण सहकारी संस्था र द्रव्यान्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकृत भएका हुन् । एकीकरणपछिको नाम सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था राखिएको छ ।
एकीकरण पछि सहकारीका शेयर सदस्य ९ हजार ६ सय ८८, शेयर पुँजी ३० करोड १५ लाख ८२ हजार, बचत २ अर्व ३३ करोड ९१ लाख ४५ हजार ३८७ रुपैयाँ, जगेडा कोष १७ करोड ५७ लाख २६ हजार २७१ र अन्य कोष १३ करोड ९५ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको छ ।
सहकारीहरुको एकीकरण घोषणासँगै एकीकृत कारोबार पनि सुरु भएको छ । एकीकरणपछि तीन महिनाभित्र साधारणसभा गर्ने गरी तदर्थ सञ्चालक समिति निर्माण गरिएको छ । सञ्चालक समितिमा साविक सामूहिकमा रहेका १५ जनाका साथै मणिप्रभा, सूर्यकिरण र द्रव्यान्जलीबाट २–२ जना राखिएको छ ।
तदर्थ सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रकुमार बर्मा रहनुभएको छ भने उपाध्यक्षमा लक्ष्मण ज्ञवाली, सचिवमा मिनप्रसाद पोखरेल र कोषाध्यक्षमा माया घिमिरे रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कमला ज्ञवाली, गंगा खरेल, टेकराज भण्डारी, नेत्रलाल बन, विष्णुहरि पन्थी, भूमिलाल सापकोटा, भुवनेश्वर अर्याल, मिना भण्डारी, राजकुमार गिरी, रेश्मीराज पाण्डे र हिरामाया थापा रहनुभएको छ ।
त्यस्तै मणिप्रभाबाट दिनेश फुल्लेल र विमला ज्ञवाली, सूर्यकिरणबाट मानबहादुर बर्मा र झविन्द्र भण्डारी, द्रव्यान्जलीबाट हरिप्रसाद पौडेल र तिलकुमारी सुनार तदर्थ समितिमा रहनुभएको छ । कृष्ण नेपाल संयोजक र पार्थमणि आचार्य एवं युवराज न्यौपाने सदस्य रहेको निर्वाचन उपसमितिले तदर्थ समितिको नाम घोषणा गरेको थियो ।
त्यस्तै लक्ष्मण अर्यालको संयोजकत्वमा नरेन्द्रप्रसाद पाण्डे र शारदा भण्डारी सदस्य रहेको लेखा समिति गठन गरिएको छ भने साविकका चारवटै संस्थाका अध्यक्ष रहने गरी विवाद समाधान उपसमिति बनाइएको छ ।
एकीकरणका लागि सुरेन्द्र बर्माको संयोजकत्वमा बनाइएको कार्यदलले सम्पूर्ण प्रकृया पूरा गरी एकीकरण भेलाको आयोजना गरिएको थियो ।
भेलाको उद्घाटन गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सहकारी तथा गरिबी निवारण शाखा प्रमुख ज्ञानहरी पन्थीले एकीकरण गर्दा सबै सहकारीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने र साविकका सहकारी संस्थाका कार्यालयलाई सेवा केन्द्रका रुपमा सञ्चालन गर्न सकिने व्यवस्थाको बारेमा जानकारी गराउनु भयो । सहकारीहरुबीच एकीकरणलाई सरकारले पनि प्राथमिकता दिएको उल्लेख गर्दै पन्थीले यो एकीकरणले लुम्बिनी प्रदेशमात्र नभइ देशभर सकारात्मक सन्देश दिने बताउनु भयो ।
लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले सहकारी संस्थाको दीगो विकास र सुदृढीकरण तथा आर्थिक सुशासनका लागि पनि एकीकरण आवश्यक रहेको बताउनु भयो ।
एकीकरण कार्यदलको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक सुरेन्द्रकुमार बर्माले यसले सहकारी क्षेत्रलाई आत्मनिर्भरताको सन्देश दिएको बताउनु भयो । एकीकरण कार्यदलका सदस्य हरिप्रसाद पौडेलले सहकारीबीचको एकीकरणले संस्थाको सवलीकरण र आर्थिक सुशासनमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो ।