भैरहवा, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ३ लाख बढिको अबैध पटाका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कार्यालयबाट खटिएको टोलीले सिद्धार्थ नगर नगरपालिका–१ मा भारतबाट अबैध रुपमा नेपाल ल्याउंदै गरेको रु. ९० हजार बराबरको विभिन्न किसिम्का पटाका बरामद गरेको हो ।
यस्तै प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ नगर नगरपालिका–२, झण्डीबजारमा रु. ६० हजार ५०० बराबरको विभिन्न किसिम्का २६२ प्याकेट पटाका बरामद गरेको छ । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले पनि कोटहीमाई गाउँपालिका–३, ऐलिडियामा भारतबाट अबैधरुपमा भन्सार छली नेपाल ल्याउंदै गरेको रु. ५० हजार ३०० बराबरको २ बोरा पटका र १ साईकल नियन्त्रणमा लिएको छ ।
यस्तै प्रहरी चौकी मैनिहवाको टोलीले रोहिणी गाउँपालिका–२, भगवानपुर चोकमा रु. ३६ हजार बराबरको रातो सानो पटका १४८ प्याकेट, बुलेट पटाका ९ प्याकेट र झिरझिरे ४५ प्याकेट बरामद गरेको छ भने ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालीदहमा रु. ३५ हजार बराबरको खुर्सानी पटाका ४२० पिस, आलु बम (पटाका) ३५ पिस, रोल क्याप पटाका ४ प्याकेट र सलाई पटाका एक डब्बा बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका–१५, पत्थरडाँडामा भारतबाट अबैधरुपमा भन्सार छली ल्याएको रु. ३२ हजार बराबरको चक्र बम १०२ प्याकेट, लम्बा बुलेट ५ प्याकेट, जुम्नु बुलेट ३ प्याकेट, मिनी फलास बुलेट ७ पोका, बोल क्याम्पस ३ प्याकेट र झिरझिरे २ प्याकेट बरामद गरेको छ ।
विभिन्न मिति र विभिन्न ठाउंबाट ३ लाख ३ हजार ८ सय मुल्य बराबरको अबैध पटाका बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।